काठमाण्डौ,१३ असोज ।
एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा भैरहवा ग्लाडियटर्सले पहिलो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदानमा आज भएको दोस्रो खेलमा भैरहवाले विराटनगर वारियर्सलाई ६ विकेटले हराउदै पहिलो जित निकालेको हो ।
विराटनगरले दिएको ९० रनको लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा चार विकेट गुमाएर भेटायो । भैरहवाका लागि श्रीलङ्काली खेलाडी उपुल थारङ्गाले अविजित ३४ रन बनाए । त्यस्तै प्रदीप ऐरीले २२ रन बनाए । बलिङतर्फ विराटनगरका रामनरेश गिरीले दुई विकेट लिँदा करण केसी र वसन्त रेग्मीले एक–एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा ८९ रनमा अलआउट भयो । बलिङतर्फ भैरहवाका लागि धमिका प्रसाद र आरिफ शेखले तीन–तीन विकेट लिए । त्यस्तै अभिनाश बोहराले दुई विकेट लिँदा दुर्गेश गुप्ता र कृष्ण कार्कीले एक–एक विकेट लिए ।
यो जितसँगै भैरहवा दुई खेलमा तीन अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने दुई वटै खेल हारेको विराटनगर तालिकाको पाँचौँ स्थानमा छ ।
यसअघि आज भएको पहिलो खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई नौ विकेटले हरायो ।








