काठमाडौं,५ असोज ।
अब सबै सीमानाका खुला हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सबै सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कोरोना महामारीको प्रकोप बढेसँगै नेपाल–भारतका अधिकांश सीमानाकाहरू बन्द थिए । पछिल्लो समय कोरोना महामारी कम हुँदै गएपछि मुख्य नाकाहरू संचालनमा ल्याइए पनि यो निर्णयसँगै बाँकी नाका पनि खुल्ने भएका छन् ।

मन्त्री कार्कीका अनुसार बैठकले कोभिड–१९ व्यवस्थापन आदेश, ०७८ जारी गरेको छ । अघिल्लो सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धी अध्यादेश खारेज भएका कारण सरकारले नयाँ आदेश जारी गरेको उनले जानकारी गराए । उक्त आदेशबाट प्रधानमन्त्री शेर बहादुर देउवाको संयोजकत्वमा कोभिड–१९ निर्देशक समिति गठन भएको छ ।

उक्त समितिमा स्वास्थ्यमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, परराष्ट्रमन्त्री, उद्योगमन्त्री, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहनेछन् । बैठकले कोभिड–१९ सम्बन्धी विधेयक, औषधि ऐन–०३५ लाई संशोधन गर्न बनेको ऐन संघीय संसद्मा पेश गर्न स्वीकृति दिएको जानकारी गराइएको छ ।