बुटवल,२ असाेज । २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहको २४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँएको छ ।
स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस बुटवल उपमहानगर समितिले बुटवल स्थित पार्टी कार्यालय परिसरमा रहेको गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेर मनाएको हो ।
बुटवलको पार्टी कार्यालयमा रहेको सिंहको शालिकमा माल्यार्पण गरी स्मृति दिवस मनाएको नगरसभापति खेलराज पाण्डेयले जानकारी दिए । साे अवसरमा गणेशमान सिहंले नेपाली राजनीतिकमा गरेको त्याग र बलिदानको स्मरण गर्दै अहिलेको कांग्रेसले त्यसबाट पाठ सिक्नु पर्ने चर्चा भएको थियोे ।
१९७२ साल कात्तिक २४ गते काठमाण्डौको क्षेत्रपाटीमा जन्मनुभएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो ।
गणेशमान सिंह १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भइ राणा शासन हटाउने अभियानमा सक्रिय भएका थिए ।
वीपी कोइरालासँग मिलेर २००३ सालमा नेपाली कांग्रेस स्थापना गरेका सिंहले २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा वीरगञ्ज मोर्चामा सशस्त्र सङ्घर्षमा सहभागी भएका थिए ।
२०१७ सालमा शाही शासन सुरु भएपछि आठ वर्ष निरन्तर कारावासको सजाय भोगेकाले उहाँलाई लौहपुरुष पनि भनिन्छ ।
गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।






