रुपन्देहीमा सुविधासम्पन्न १० वटा व्याडमिन्टन कभर्ड हल

बुटवल,२ असोज ।
मुलुक भर पछिल्लो समयमा कोरोना महामारीले गर्दा खेलकुदका प्रतियोगिताहरु हुन नसकेको समयमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १६ मधवलीयामा व्याडमिन्टन कभर्ड हलको उद्घाटन भएको छ ।

यससंगै रुपन्देहीमा सुविधासम्पन्न व्याडमिन्टन कवर्ड हलको संख्या १० पुगेको छ ।

कोरोनाले हरेक क्षेत्रलाई थला पारेकै समयमा रुपन्देहीमा थप अर्को व्याडमिन्टन कभर्ड हल स्थापना गरी शुभारम्भ गरिएको छ ।

रुपन्देहीको तिलोत्तमा १६ स्थित मधवलिया व्याडमिन्टन क्लवले निर्माण गरेको कभर्ड हलको शनिवार एक कार्यक्रमका बिच रुपन्देही क्षेत्र नम्बर १ का संघिय सांसद छविलाल विश्वकर्माले शुभारम्भ गरेका हुन् ।

सो अवसरमा वोल्दै सांसद विश्वकर्माले खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिता अपरिहार्य रहेको भन्दै प्रतियोगिता संचालन गर्न कभर्ड हल जरुरी रहेको बताए ।
सवै उम्मेर समुहका खेलाडी खेल्न मिल्ने खेल व्याडमिन्टन भएकाले त्यस खेलको प्रवद्र्धन गर्नुपर्ने उनको भनाई थियो ।

पंचकन्या ईन्डष्ट्रीजका उपाध्यक्ष धु्रव कुमार श्रेष्ठले रुपन्देही जिल्लामा पछिल्लो समयमा व्याडमिन्टन खेलप्रति निकै आकर्षण बढेको भन्दै स्वास्थ्य रहनका लागि खेलकुद अपरिहार्य रहेको बताए ।

उपाध्यक्ष श्रेष्ठले मधवलीयामा व्याडमिन्टन कभर्ड हललाई राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न मिल्ने गरि प्याकेटिङ गर्न अन्तराष्ट्रिय स्त्तरको म्याट उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश खेलकुद परिषदकी कार्यकारी सदस्य उमा अधिकारीले खेलकुदलाई राष्ट्रसंग जोडन सक्नु पर्नेमा जोड दिइन् ।

मधवलीया व्याडमिन्टन क्लवका अध्यक्ष केशव सिंह चौधरीको अध्यक्षतामा भएको कभर्डहल उद्घाटन तथा दोस्रो साधारण सभामा हेमा बराल, राजेन्द्र गुरुङ, विष्णु थापा लगायतले खेलकुद र खेलाडीको संरक्षण र प्रोत्साहनका लागि राज्य गम्भीर हुुनुपर्ने धारणा राखे ।