बुटवल,१ असाेज ।
लुम्बिनी प्रदेश सरकारले एक हप्ता भित्र पूर्णता पाउने भएको छ ।
शुक्रबार बेलुका मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा आयाेजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता कृष्णध्वज खड्काले एक हप्ता भित्र प्रदेश मन्त्रीपरिषदले पूर्णता पाउने बताएका हुन् ।
प्रदेश सभाकाे गतिरोध अन्त्यमा बिषयमा बिपक्षी दलसँग निरन्तर संवाद भैरहेको भन्दै उनलेे सहमतिमा प्रदेश सभाको बैठक सुचारू गर्न सरकारले अझै केही समय पर्खने बताए ।

प्रदेश सरकारले दाङको भालुवाङमा सम्पर्क कार्यालय खोल्ने भएको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा मुख्यमन्त्री कार्यालयको सम्पर्क कार्यालय खोल्ने र कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए ।

बैठकले प्रदेश पदक सिफारिश समितिले गरेको सिफारिशअनुसार ५७ जनालाई प्रदेश पदक प्रदान गर्ने निर्णय गरेको छ । असोज ३ गते संविधान दिवसका अवसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने निर्णय गरेको हो ।

यी पदक फागुन ३ मा प्रदेश स्थापना दिवसमा प्रदान गरिनेछ।
बैठकले साविक मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता खड्काले बताए ।

यस्तै बैठकले मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्तिगाउँ रोल्पा निवासी रमेश बहादुर वली क्षेत्रीलाई नियुक्त गरेको छ । यसैगरि बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ दोस्रो संशोधन स्वीकृत गरेको छ ।

प्रदेश सरकारले बुटवल उपमहानगरपालिकाको वडाहरुलाई छुट्याउने प्रस्तावलाई समेत संघीय सरकारलाई पठाउने निर्णय गरेको छ ।
त्यसैगरी झिमरुक गाउँपालिकाको गाउसभाबाट प्राप्त प्रस्ताव अनुसार गाउपालिकाको केन्द्रको नाम भ्यागुतेको सट्टा मच्छी कायम गर्न, त्रिवेणी गाउँपालिकाको वडाहरुलाई थपघट/समायोजन गर्ने, रोल्पा नगरपालिकाको वडाहरुलाई थपघट/समायोजन गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय समेत गरेको छ ।