काठमाडौं,१ असाेज । सवारी चालकहरूले घुस दिदा नलिएको भन्दै उपत्यकाका २४ ट्राफिक प्रहरी पुरस्कृत भएका छन् ।

नियमानुसार ट्राफिक कारबाही गर्ने क्रममा घुस नखाई जिम्मेवारी निर्वाह गर्ने प्रहरी निरीक्षकसहित २४ ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले आज सम्मान गरेको हो ।

नगद पुरस्कारसहित सम्मान हुनेमा प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठ, प्रहरी हबल्दार उमेश राम, लक्ष्मण यादव तथा जवानहरु किसानचन्द्र गौतम, धनवीर जिसी, सविना लम्जेल, प्रकाश थापा, निरज थापा, हिक्मत रावल र सन्तोष धमला रहेका छन् ।

यस्तै प्रहरी नायब निरीक्षक मिलनकुमार सिंह, प्रहरी हबल्दार ईश्वर सिंह धामी, भीमबहादुर बोहोरा, नगकुल गिरी, विनोद गोतामे, सन्तोषकुमार साह, रामजी साह, प्रवीन मोक्तान, दधिराम विसी, प्रहरी जवान हरिबहादुर सुनार, कुमार कोइराला, सविना थापा मगर, महेशराज पनेरु, गुणाकर अवस्थी, अरुणबहादुर अधिकारी पनि सम्मानित भएका छन् ।

उनीहरुलाई महाशाखा प्रमुख भट्टराईले प्रशंसापत्रसहित खादा ओढाएर सम्मान गर्नुभएको थियो । प्रहरीले गत आर्थिक वर्षमा घूस दिन खोज्ने एक सय ६६ चालक पक्राउ गरेको थियो । यस आवमा घूसबापत रु ९० हजार एक सय ५५ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक सय ६५ चालक पक्राउ परेका छन् ।

उनीहरुलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ९३ जना प्रहरी कर्मचारीलाई महाशाखाले पुरस्कार एवं प्रशंसापत्रबाट सम्मान गरिसकेको छ ।

प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न विगतदेखि नै महाशाखाले उक्त अभियान चलाएको छ । प्रलोभनमा पार्न खोज्ने चालकलाई कानुनअनुसार मुद्दा चलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।