बुटवल,२९ भदौ । लुम्बिनी दुई बिनाबिभागिय मन्त्रीले मन्त्रालयकाे जिम्मेवारी पाएका छन् ।
नयाँ सरकार बनेको एक महिनापछि जनता समाजवादी पार्टीबाट विना विभागीय मन्त्री बनेका लुम्बिनी प्रदेशका दुई मन्त्रीले मंगलबार मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

मन्त्री सुमन शर्मा रायमाझीले कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको र पुरमती ढेंगाले श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएकी सुमन शर्मा रायमाझीले आजै पदभार ग्रहण गरेकी छन् भने श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयकाे जिम्मेवारी पाएकी पुर्मती ढेँगा रूपन्देही बाहिर भएकोले पदभार ग्रहण नगरेको बताइएको छ ।
सरकारका प्रवक्ता कृष्णध्वज खड्काको सचिवालयले दुई विना विभागीय मन्त्रीलाई मन्त्रालयको कार्यविभाजन गरिएको पुष्टी गरे । साउन २८ गते नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त हुंदा त्यसै दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक–एक जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाही मन्त्री नियुक्त भएका थिए ।

ती मध्ये जसपाका रायमाझी र ढेंगा तथा स्वतन्त्र सांसद शाही विना विभागीय मन्त्री नियुक्त भएका थिए । यसअघि मुख्यमन्त्री केसीले शाहीलाई उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको जिम्मेवारी दिएका थिए ।

अब बन्ने मन्त्रीहरुमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीन÷तीनजना मन्त्री र एक–एकजना राज्यमन्त्री नियुक्त गर्ने सहमति भएको छ ।
मन्त्री परिषद् बिस्तारमा ढिलाइ भएपछि मुख्यमन्त्री केसीले कांग्रेसको भागमा परेको उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय,वन वातावरण तथा भु–संरक्षण मन्त्रालय र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तत्कालका लागि पर्यटन,ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई प्रदान गरेका छन् ।
नेपाली कांग्रेसले एक राज्य मन्त्रीसहित चार जनालाई सरकारमा पठाउने तयारी गरेको । नेकपा माओवादी केन्द्रले मन्त्रीको टुंगो नलगाएकाेले ३ वटा मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री केसीले सम्हालेका छन् ।