बुटवल,२९ भदौ । बुटवलको मोतिपुर स्थित औद्याेगिक करिडोर क्षेत्रकाे जग्गा अतिक्रमण गर्ने प्रयास गरेको आराेपमा प्रहरीले थप ४ जनालाई पक्राउ गरेको छ ।
स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गरेको आराेपमा प्रहरीले उनिहरूलाई पक्राउ गरेको जिल्ला प्रशासन कार्यालय रूपन्देहीले जनाएको छ ।
सुकुम्बासीका नाममा निर्माणाधीन मोतीपुर औद्योगिक करिडोरको जग्गा कब्जा गर्न थालेकाे भन्दै स्थानीय प्रशासनले निर्माणाधीन मोतिपुर औद्याेगिक करिडोर क्षेत्रमा निषेधाज्ञा जारी गरेकाे थियोे ।
रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा १७ र १८ मा पर्ने उक्त क्षेत्रमा कुनै पनि गतिविधि नगर्न प्रशासनले हिजोदेखि निषेधाज्ञा लागू गरेको हो ।
औद्योगिक करिडोरको जग्गा अतिक्रमण गरि बस्ती बसाल्ने योजना अनुसार केही व्यक्तिले रातको समयमा सुकुमबासी भेला गर्ने गरेको आराेपमा यसअघि पक्राउ परेका ४ जनालाई धराैटीमा छाडिएको र निषेधाज्ञा जारी भएपछि थप ४ जनालाई पक्राउ गरि आवश्यक कानुनी कारबाही अगाडि बढाइएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
औद्योगिक करिडोर क्षेत्रकाे जग्गा अतिक्रमण गरि सुकुमवासीका नाउमा बस्ती बसाउन हजार जनाको समुह तयार गरि सरकारसँग भिड्ने तयारी गरेको र त्यसका लागि रसिद काटेको थाहा पाएकोले उनीहरूलाई पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।
पक्राउ पर्नेमा स्याङ्जाका सोनु थापा, गुल्मीको रुरु–१, गुल्मीका गोविन्द विक, मदाने गाउँपालिका भूपाल सिंह घर्ती र मदानेकै कमला पन्थी रहेका छन् । उनीहरूले उजीरसिंह नगर नयाँ बस्ती विकास परिषद्, बुटवल रुपन्देहीको नाममा फर्जी बिल बनाएर पैसा उठाएको अवस्थामा पक्राउ गरेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए
निषेधाज्ञा जारी भएसँगै त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रशासनले जनाएको छ ।
कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी त्यस क्षेत्रमा निषेधाज्ञा जारी गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी तामाङले तोकिएका क्षेत्रमा बनेका संरचना हटाउने र नयाँ आउनेलाई पक्राउ गरि कारवाही गरिने बताए ।
निषेधाज्ञा उलङ्घन गरेमा १ लाख सम्म जरिवाना र ६ महिना सम्म कैद वा दुबै सजाय दिन सकिने व्यवस्था रहेको उनले बताए । प्रशासनले तोकिएको ४ किल्लाभित्र नआई सहयोग गर्न आग्रह समेत गरेकाे छ ।
निषेधित क्षेत्र अन्तर्गत पूर्व तिनाउ नदी ( बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुलसम्म), पश्चिम हरिहरपुरको खेतियोग्य जमिन ९ बुटवल उपमहानगरपालिका वडा नं. १७, उत्तर तर्फ शिवनगर रानीगाउँ बस्ती बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहियासम्म) रहेको छ ।
स्थानीयले भने आफूहरुको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै विरोध गर्दै आएका छन् ।
उक्त क्षेत्रमा स्थानीयको विरोध र ढुंगामुढाका बीच एमाले नेता विष्णु पौडेलले गत फागुन २१ गते औद्योगिक क्षेत्र शिलान्यास गरेका थिए ।







