बुटवल,२८ भदौ ।
सुकुम्वासीका नाममा मोतीपुर औद्योगिक करीडोरको जग्गा कब्जा गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले औद्योगिक करिडोर वरपर निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल उप–महानगरपालिका वडा १७ र १८ मा निर्माणाधीन मोतिपुर औद्योगिक करिडोर क्षेत्र वरपर निषेधित क्षेत्र घोषणा गरेको हो ।
औद्योगिक करिडोरको जग्गा अतिक्रमण गरि बस्ती बसाल्ने योजना अनुसार केही व्यक्तिले रातको समयमा सुकुमबासी भेला गर्ने गरेकाले त्यस क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ती जारी गर्दै करिडोर क्षेत्रमा सुकुम्बासीहरुलाई भेला जम्मा गरी सुकुम्बासी बस्ती बसाउन प्रयास गरेकाले उक्त क्षेत्रमा आवतजावत भेला जम्मा नहुन नगर्नका लागि कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग २८ भदौ देखि नै लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।
निषेधित क्षेत्र पूर्व तिनाउ नदी (बुटवल उपमहानगरपालिका वडा नंं १७ शिवनगर देखि वडा नं १८ सौरहिया पुल सम्म), पश्चिम हरिहरपुरको खोतियोग्य जमिन ९ बुटवल उपमहानगरपालिका वडा नं. १७, उत्तर तर्फ शिवनगर रानीगाउ बस्ति बुटवल उपमहानगरपालिका वडा नं १७, दक्षिणमा बुटवल उपमहानगरपालिका वडा नं. १८ औद्योगिक करिडोरको जमिन (धन्दापुर सौरहिया सम्म) तोकिएको छ ।
‘निषेधित क्षेत्र भित्र निषेध गरिएका कृयाकलाप भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कार्बाही गरिने व्यहोरा आम सर्वसाधारणमा सूचित गरिन्छ ।’ विज्ञप्तीमा भनिएको छ ।






