बुटवल, २८ भदौ ।
नेकपा एमालेका युवा ईन्चार्ज महेश बस्नेतले अहिलेको राजनीतिक गतिरोधको अन्त्यको विकल्प अर्ली इलेक्शन भएको बताएका छन् ।
बर्तमान संसदलाई बुढो गाइको संज्ञा दिदै उनले सरकार समेत दिन नसक्ने अहिलेको संसदले मुलुकलाई निकास दिन नसक्ने दाबी गरे ।
राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमीटीद्धारा सोमबार बेलुका बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले उक्त कुरा बताएका हुन् ।
सभामुख अग्नी प्रसाद सापकोटाले पदिय मर्यादा भुलर प्रचण्ड र माधव नेपालको मुख बनेको आरोप लगाउदै उनले यही अवस्था कायम रहे प्रतिनिधी सभा चल्न नसक्ने चेतावनी दिए ।
बिभाजनका कारण एमाले कमजोर नभएर थप शसक्त भएको दाबी गर्दै उनले बिभाजनका कारण पार्टीमा पुगेको क्षती माओवादी केन्द्रबाट आएकाहरुबाट बोनससहित पूर्ती भएको बताए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही बर्षपछि आफु एक्लिने त होइन ? भनि गरेको बिष्लेषण सहि भएको भन्दै बस्नेतले प्रचण्ड मात्रै नभएर माधव नेपाल,डा.बाबुराम भट्टराई र उपेन्द्र यादवहरु समेत एक्लिने दाबी गरे ।
पार्टीबाट बिद्रोह गरेका माधव नेपाल भन्दा प्रचण्डप्रति बढी आक्रामक रुपमा प्रस्तुत भएका बस्नेतले प्रचण्डले जिवनको अन्तिम क्षणमा पुग्दा उनलाई सम्झेर रुने मान्छे पनि नपाउने अवस्था आउने बताए ।
एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले रुपन्देहीमा एमाले बिभाजनको कुनै असर नपरेको बताए ।
केही साथीहरु भुल बस अन्यत्र गएको भएपनि नेकपा माओवादी केन्द्र सँग एकता हुदा समाहित भएका साथीहरु पनि एमालेमै भएकोले पार्टी अझै शसक्त र बलियो भएको उनको भनाई थियो ।
कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल लुम्विनी प्रदेश कमीटी अध्यक्ष तुलबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।






