काठमाडौं,२८ भदौ । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयाेग र सभामुख बिरूद्व दायर गरेकाे रिट हेर्न नभ्याइने सूचीमा परेको छ।
सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र मीरा खड्काको संयुक्त इजलासमा पेशी तोकिएको रिट हेर्न नभ्याइने सूचीमा परेको हो।
ओलीले निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सभा सदस्यहरूलगायतलाई विपक्षी बनाएर १७ भदौमा तीनवटा छुट्टाछुट्टै रिट दायर गरेका थिए।
भदौ २२ मा ती रिटमा प्रारम्भिक सुनुवाई गर्दै सर्वोच्चले एउटा रिटमाथि अन्तरिम आदेश दिन नसकिने र अन्य दुई रिटमा दुवै पक्षलाई बोलाएर छलफल गरेपछि अन्तरिम आदेश दिने वा नदिने निर्णय गर्ने आदेश गरेको थियो।
एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादी दर्ता बदर हुनुपर्ने मागसहित दायर गरेको रिटमाथि छलफलका लागि दुवै पक्षलाई बोलाइएको थियो।
साथै, लुम्बिनी प्रदेश सभाका दुई सदस्य विमला वली र अजय शाहीलाई पदमुक्त गर्नुपर्नेमा सभामुख घर्तीले पदमुक्त नगरेको भन्दै पदमुक्त गर्न माग गरिएको थियो।





