बुटवल,२७ भदौ । मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन् तथा निकासी गरेको अभियाेगमा दुई ठेकेदारिवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले मुद्दा दायर गरेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनवल नगरपालिका अन्तर्गत पानभार खोलामा नदीजन्य पदार्थ उत्खनन् तथा निकासीको ठेक्कामा मापदण्ड विपरीत काम गरेको अभियाेगमा ठेकेदारिवरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकाे हो ।

मापदण्ड विपरीत उत्खनन् गरेको तथा नगरपालिकाबाट प्रमाणित नगरेको रसिद प्रयोग गरी राजस्व छली गरेको आरोपमा एस.आर.डी. कन्स्ट्रक्सनका प्रोपाइटरहरू रमेश पराजुली र सन्दीप केसीविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेकाे अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ को नदीजन्य पदार्थ उत्खनन् तथा निकासी गर्दा सुनवल नगरपालिकाबाट प्रमाणित रसिद प्रयोग गरी रकम उठाउनुपर्नेमा प्रमाणित नगरिएको फर्जी बिल प्रयोग गरी ७५ लाख ८० हजार ६ सय ४९ उठाई गैरकानुनी लाभ लिएको पुष्टि भएकाे अख्तियारले जनाएकाे छ।

पराजुली र केसीको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिमको कसूरजन्य कार्य भएकोले बिगो ७५ लाख ८० हजार ६ सय ४९ कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजायको माग गरिएको छ।

बिगो वापतको रकमसहित सजायको लागि दफा ८ (४) बमोजिम आयोग ऐन, २०४८ को दफा १८ एवं दफा ३५ बमोजिम विशेष अदालत आइतबार काठमाडौंमा उजुरी दर्ता भएकाे हाे।