बुटवल,२७ भदौ । राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश कमिटीले प्रदेशका सबै जिल्लामा विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
राष्ट्रिय युवा संघ नेपालको लुम्बिनी प्रदेश कमिटीको बुटवलमा बसेको प्रथम विशेष बैठकले संगठन सदृढिकरण र विस्तारका अभियानलाई एकसाथ सञ्चालन गर्ने निर्णय गरेको संघका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष तुलबहादुर अधिकारीले जानकारी दिए ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका राष्ट्रिय युवा संघका जिल्ला कमिटी अध्यक्षहरु, जिल्लाबाट केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु र प्रतिनिधि सहभागी रहेको बैठकले संगठन सुदृढिकरण, विस्तार र प्रशिक्षणका अभियान सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष अधिकारीले बताए ।
राष्ट्रिय युवा संघ नेपालको लुम्बिनी प्रदेश कमिटीको उक्त बैठकको उद्घाटन गर्दै नेकपा एमालेका स्थायी समितिका सदस्य तथा युवा नेता टोपबहादुर रायमाझीले पार्टीका विरुद्ध फैलाउन खोजिएका भ्रम, षड्यन्त्र र अनेक प्रकारका तिगडमलाई परास्त गर्न युवा संघले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जाेड दिए ।
युवाहरुलाई रचनात्मक, सिर्जनात्मक र उत्पादनमूलक काममा लगाउन जरुरी रहेको उल्लेख गर्दै नेता रायमाझीले उक्त कामको अगुवाई राष्ट्रिय युवा संघले गर्नुपर्ने बताए । ‘युवा संघको अगुवाईमा निर्माणको, रचनात्मक कामको, उत्पादनमूलक कामको, समाज सुधारको र अनेक प्रकारका वेथितिका विरुद्ध भण्डाफोरको समेत अभियान चलाउनुपर्ने छ’ नेता रायमाझीले भने ।
बैठकलाई सम्बोधन गर्दै एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरीले परिवर्तनका आन्दोलनको नेतृत्व गरेको युवा पंक्तिले अब निर्माण र रुपान्तरणको आन्दोलनको पनि नेतृत्व गर्ने बेला आएको बताए ।
विकृति, विसंगति र अनेक प्रकारका बेथितिमा फसेका युवाहरुलाई सुधार्नका लागि युवा संघमा आवद्ध गराउनुपर्ने र तिनीहरुसमेतको सहकार्यमा समृद्धिको अभियान सञ्चालन गर्न सकिने नेता गिरीको भनाइ थियो ।
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले कार्यतालिका नै बनाएर देशव्यापी अभियानको तयारी भएको भन्दै युवाहरुलाई राष्ट्रिय युवा संघमा गोलबद्ध गराउन मातहतका कमिटीहरुलाई आग्रह गरे ।
संघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी इन्चार्ज सुमन पुरीले युवासंघले देश विकासको, रुपान्तरणको र समाज सुधारका कामको समेत नेतृत्व गर्ने उल्लेख गर्दै त्यसका लागि सबै युवाहरु थप जिम्मेवार र अनुशासित भएर प्रस्तुत हुनुपर्नेमा जोड दिए ।
राष्ट्रिय युवासंघ नेपाल प्रदेश कमिटी लुम्बिनीका अध्यक्ष तथा केन्द्रीय सचिव तुलबहादुर अधिकारीको अध्यक्षतामा बसेको प्रथम पूर्ण बैठकमा संघका केन्द्रीय नेता तथा लुम्बिनीका सहइन्चार्ज रबिन्द्र लम्साल, केन्द्रीय सचिव गोविन्द भुसाल, स्थायी कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज केशव रोका, केन्द्रीय सदस्य केन्द्रीय लेखा आयोगका पूर्व सचिव तेजेन्द्रबहादुर पाण्डे, युवा संघ रुपन्देहीका अध्यक्ष मनोज गौचन, उपाध्यक्ष विकासजंग बस्नेतलगायतका युवा नेताहरुले अभियानका बारेमा जानकारी गराएका थिए ।
बैठकले राष्ट्रिय युवासंघ नेपालले बाँकेमा बृहत्त युवा भेलाको आयोजना गर्ने निर्णय गरेको छ । साथै बुटवलमा प्रदेशको सचिवालय स्थापना गर्ने भएको छ । उक्त भेलाको तयारीलगायतका कामका लागि बुटवलमा केन्द्रीय स्तरको सचिवालय र बाँकेमा समेत प्रचार–प्रसार कार्यालय स्थापना गर्ने निर्णय गरेको केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी इन्चार्ज सुमन पुरीले जानकारी दिए । यस्तै युवा संघका जिल्ला स्तरका भेलाहरु आगामी असोज पहिलो सातासम्ममा गर्नेलगायतका निर्णय गरेको छ ।






