काठमाडौं,२७ भदौ ।
नेपालमा आइतबार थप ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ७ हजार ८७८ पीसीआर परीक्षण गर्दा ८३८ जना र ३ हजार १४० जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरि ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४२३ जना काेराेना संक्रमित निकाे भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख ३९ हजार ४५७ जना निको भएका छन् भने १० हजार ९४९ जनाको मृत्यु भएको छ ।

सक्रिय संक्रमितमध्ये २५ हजार १७१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५४ जनाको आईसीयू र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

आइतबार संक्रमण पुष्टि भएकामध्ये ३०९ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका १८७, ललितपुरका ५६ र भक्तपुरका ६६ जना रहेका छन् ।

मन्त्रालयका अनुसार आइतबार प्रदेश १ मा १६८, प्रदेश २ मा ११ तथा बागमती प्रदेशमा ३६२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै गण्डकीमा १७०, लुम्बिनीमा ६३, कर्णालीमा ४५ र सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा संक्रमण पुष्टि भएको छ ।