पाल्पा,२६ भदौ । कोरोना भाइरस सक्रमणकाे जोखिमका कारण पाँच महिनादेखि बन्द रहेका विद्यालयमा आलोपालो प्रणालीबाट कक्षा सञ्चालनमा ल्याइएको छ ।
पाल्पाको तिनाउ गाउँपालिका सहित विभिन्न पालिकाहरूले भौतिक उपस्थितिमा आलोपालो प्रणालीमा कक्षा सञ्चालनमा ल्याएको हो ।
तिनाउ गाउँपालिकाले कक्षा १, ३, ३, ७, ९, ११ र २, ४, ६, ८, १०, १२ बार अनुसार कक्षा सञ्चालन गरेको छ । पालिकामा कोरोना भाइरस संक्रमणकाे जाेखिम न्यूनीकरण हुँदै गएसँगै साताअघि गाउँपालिकाभित्रका सबै विद्यालय नियमित रुपमा खोली बारअनुसार कक्षा सञ्चालन गर्न थालिएको गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिए ।
जिल्लाकाे पुर्वखाेला गाउपालिकाका केही विद्यालयमा पनि आलाेपालाे प्रणालीबाट विद्यालय सञ्चालन गरिएको छ ।
त्यस्तै पाल्पाको माथागढी गाउँपालिकाले भदौ २८ गतेबाट भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गर्ने भएको छ । कोरोना महामारी कारण विद्यालय बन्द गरी वैकल्पिक विधिबाट पठनपाठन गरिए पनि प्रभावकारी हुन सकेको थिएन ।
गाउँपालिकाभित्र पाँचजना मात्र कोरोनाको सक्रिय सङ्क्रमित रहेपछि गाउँपालिकाले स्मार्ट लकडाउनअनुसार नै विद्यालय सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष सन्तोष थापाले बताए । उनका अनुसार डीसीएमसीको निर्णय र गाउँ शिक्षा समितिको निर्णयबमोजिम स्वास्थ्य मापदण्ड र स्मार्ट लकडाउनको कार्यविधि पूर्ण रुपमा पालना गर्ने गरी विद्यालय खोलिने लागेको हो । कोरोना भाइस सङ्क्रमण देखिएको अवस्थामा शिक्षक, कर्मचारी र विद्यार्थी विद्यालयमा उपस्थिति नहुने र स्वास्थ्य संस्थाहरुमा सम्पर्कमा रहन गाउँपालिकाले अनुरोध गरेको छ ।
पाल्पाको रम्भा, रामपुर नगरपालिका र बगनासकाली गाउँपालिकाले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने अन्तिम तयारीमा जुटेको छ । रम्भा गाउँपालिकाले आइतबारदेखि नै कक्षा सञ्चालन गर्ने तयारीमा जुटेको हो । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार कम विद्यार्थीहरु हुने विद्यालयमा आइतबारदेखि नै भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुन्छ । विद्यार्थी सङ्ख्या बढी भएका विद्यालयमा आलोपालोमा कक्षा सञ्चालन गर्ने तयारी भएको अध्यक्ष भण्डारीले बताउनुभयो । कक्षा सञ्चालन हुनुभन्दा अगाडि स्वास्थ्य मापदण्डको पालना गराउन शिक्षकबाट कार्यान्वयन गराउने अध्यक्षको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले जिल्लामा कोरोना सङ्क्रमणको दर न्यून भएकाले स्थानीय तहले स्वास्थ्य मापदण्डको पालना गरी खोल्ने सक्ने निर्णय गरेसँगै विद्यालय खोलिन थालेको हो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले स्वास्थ्य मापदण्डको पूर्ण सतर्कता र सजगताका अवलम्बन गरी भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने बताए । शिक्षक तथा विद्यार्थीको भौतिक उपस्थितिमा अध्ययन अध्यापन गर्ने वातावरण सिर्जना गरी नियमित रुपमा कक्षा सञ्चालन गर्ने तयारी भएको उनकाे भनाइ छ ।
रामपुर–१० स्थित जनकल्याण उच्च माविका शिक्षक दामोदर तिमिल्सिनाले पठनपाठन सञ्चालनका लागि नगरपालिकाबाट निर्देशन आएको जानकारी दिए । स्वास्थ्य मापदण्डको पालना गरी कक्षा सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।
यसअघि बिहान, दिउँसो र साँझमा पालैपालो पढाउने गरिएकाेमा अबदेखि नियमितरुपमा पठनपाठन गरिने तिमिल्सिनाले जानकारी दिए ।
जिल्लाका अधिकांश स्थानीय तहले विद्यालय खोल्ने तयारी गरेका छन् । जिल्लाका अधिकांश सरकारी विद्यालय खोल्ने तयारी भइरहे पनि संस्थागत विद्यालयले भने अनलाइन माध्यमबाट परीक्षासमेत सकेका छन् ।परीक्षा सम्पन्न गरी हालसम्मको महिनावारी शिक्षण शुल्कसमेत उठाएको अभिभावकको गुनोसो छ । विद्यालय खोलिन थालेपछि विद्यार्थीमा उत्साहसँगै कोरोना सङ्क्रमणको त्रास भने कायमै रहेको छ ।






