काठमाण्डाै,२६ भदौ । नेकपा एमालेले संसद बैठकमा विरोध गर्दा शिष्ट बन्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
आज बसेको स्थायी कमिटीको बैठकले सांसदहरुलाई शिष्ट र मर्यादित भएर विरोध गर्न निर्देशन दिने निर्णय गरेको प्रचार विभागका प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
सभामुख अग्नि सापकोटाको मनोमानीको कारण संसदमा अहिलेको अवस्था आएको भन्दै विरोध गर्ने सांसदलाई अनुशासन र मर्यादाभित्र बस्न पनि बैठकले निर्देशन दिएको छ ।
संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न एमालेले भोलि दिउँसो १२ बजे संसदीय दलको बैठक बोलाइएको पनि नेता भट्टराईले बताए ।
एमाले सांसदहरूले संसद बैठकमा बिराेध गर्ने क्रममा मर्यादापालककाे हात टाेक्ने,सांसदहरूमाथि चढेर राेष्ट्रममा जाने प्रयास गरेपछि एमालेले आफ्ना सांसदहरूलाई मर्यादित रूपमा प्रस्तुत हुन निर्देशन दिएको हो ।
संसदमा बिराेध गर्ने क्रममा एमाले सांसदहरूले देखाएको उछृङ्खल प्रबृत्तिकाे सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियोे ।






