पाल्पा,२६ भदौ । नेकपा (एकीकृत समाजवादी)ले पाल्पामा एक सय २५ सदस्यीय जिल्ला कमिटीको घोषणा गरेको छ ।

आज पाल्पाको तानसेनमा भएको भेलाले कमल पाण्डेयको अध्यक्षतामा १२५ सदस्यीय कमिटी घोषणा गरेको हो । पाण्डेय यसअघि नेकपा एमालेका उपसचिव रहेका थिए ।

कमिटीको उपाध्यक्षमा लुम्विनी प्रदेश सभाका सदस्य रमा घर्ती, सचिवमा मोहनलाल गैरे र उपसचिवमा कमल सेन रहेका छन् । तीने जना यसअघि एमालेका जिल्ला कमिटि सदस्य रहेका थिए ।

समाजवादीले एक सय २५ सदस्यीय जिल्ला कमिटिमा ७५ सदस्यको नाम सार्वजनिक गरेको छ । बाँकी ५० जनाको नाम पछि सार्वजनिक गरिने पार्टीका जिल्ला अध्यक्ष कमल पाण्डेयले बताए ।

भेलामा पाल्पा क्षेत्र नं– २ बाट निर्वाचित संघीय सांसद सोमप्रसाद पाण्डेय, समाजवादीका केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे लगायतको सहभागीता रहेको थियो ।