काठमाडौ,२६ भदौ ।
नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी विभाजनले एमालेलाई ९ प्रतिशत मात्रै असर परेको दाबी गरेका छन् ।
शनिवार काठमाडौंमा आयोजित नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चद्वारा वृहत् प्रशिक्षण भेला तथा शपथ ग्रहण कार्यक्रममा महासचिव पोखरेलले पार्टी विभाजनले एमालेलाई देशव्यापी रुपमा जम्मा ९ प्रतिशत मात्र असर गरेको बताएका हुन् ।

नेकपा एमालेले देशव्यापी रुपमा पार्टी एकता अभियान चलाउने बताउदै उनलेे त्यसपछि यो ९ प्रतिशत पनि खिइएर २ प्रतिशतमा झर्ने दाबी गरे ।
नेकपा एमाले अब हिजोभन्दा अझै सरिक भएर अगाडि बढ्ने बताउदै महासचिव पोखरेलले भने, ‘केहीले कति असर पर्‍यो पार्टी विभाजन हुँदा भन्नुभएको छ, हामीले अध्ययन गर्दा यसको असर ९ र धेरैमा १० प्रतिशत मात्रै परेको देखेका छौँ, तर अब नेकपा एमालेले देशव्यापी रुपमा अभियान चलाएपछि यो २/३ प्रतिशत मा आइपुग्नेछ र नेकपा एमाले हिजोभन्दा पनि अझै सबल भएर अघि बढ्छ ।’