काठमाडौं,२६ भदौ । बंगलादेशी ब्याट्सम्यान तमिम इकबालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्ल्याडियटर्सबाट खेल्ने भएका छन् ।

भैरहवाले तेस्रो विदेशी खेलाडीको रुपमा तमिमसँग सम्झौता गरेको जानकारी दिएको हो। ३२ वर्षीय तमिमले ६४ टेस्ट, २ सय १९ ओडिआई, ७८ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

तमिमले टी-२० आईमा १ शतक र ७ अर्धशतकसहित १ हजार ७ सय ५८ रन बनाएका छन् ।

तमिमले टेस्टमा ९ शतक र ३१ अर्धशतकसहित कुल ४ हजार ७ सय ८८ रन बनाएका छन् । ओडिआईमा १४ शतक र ५१ अर्धशतकसहित ७ हजार ६ सय ६६ रन बनाएका छन् । तमिमले टी-२० विश्वकपबाट आफ्नो नाम फिर्ता लिएका थिए । तमिम बिनानै बंगलादेशले विश्वकप खेल्ने टोली घोषणा गरिसकेको छ ।

भैरहवाले विदेशी खेलाडीको रुपमा यसअघि श्रीलंकाका पूर्वकप्तान तथा ओपनर उपुल थरंगा र तीव्र गतिका बलर धाम्मिका प्रसादलाई टोलीमा अनुबन्ध गरिसकेको छ। दिनेश चान्डिमलको नाम सार्वजनिक गरेपनि अन्तर्राष्ट्रिय व्यस्तताको कारण नआउने जानकारी दिई सकेको छ ।

चौथो संस्करणको ईपीएल आगमी असोज ९ देखि २३ सम्म टियू मैदानमा हुँदैछ । भैरहवाका मुख्य प्रशिक्षकमा नेपाली क्रिकेट टोलीका पूर्वप्रशिक्षक पुबुदु दसानाइके छन् ।

भैरहवाको कप्तान शरद भेषावकर छन् भने युवा ब्याट्सम्यान आरिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल र तीव्र गतिका बलर अभिनाश बोहरा जस्ता वर्तमान नेपाली टोलीमा रहेका युवा स्टार छन् ।

टोलीमा प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की, अनिल खरेल, हरिशंकर शाह, दीपेश श्रेष्ठ, विकास आग्री, दुर्गेश गुप्ता र हिमान्शु दत्त स्वदेशी खेलाडीको रुपमा रहेका छन् ।