बुटवल,२५ भदौ । अब अनलाइन सञ्चारमाध्यमले पनि सरकारी लोककल्याणकारी विज्ञापन पाउने भएका छन् ।
यसअघि प्रिन्ट मिडीया, रेडियो र टेलिभीजनमा मात्र सिमित रहेकोमा लोककल्याणकारी विज्ञापन सरकारले अव दर्ता भएका अनलाईन मिडीयाहरुलाई पनि उपलब्ध गराउन लागेको हो ।

पूर्ववर्ती सरकारले प्रस्तुत गरेको बजेटलाई प्रतिस्थापन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा अनलाइन माध्यमबाट प्रसारित सञ्चारमाध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन प्रदान गर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संशोधन गर्न प्रतिनिधि सभामा प्रतिस्थापन विधेयक पेस गर्दै लोक कल्याणकारी विज्ञापनको दायरा विस्तार गरी अनलाइन सञ्चारमाध्यमलाई पनि उपलब्ध गराउने व्यवस्था मिलाएको बताएका हुन् ।

यसैबीच सरकारले दीर्घ रोगीलाई मासिक ५ हजार दिने भएको छ । आज संसदमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले दीर्घरोगीलाई मासिक ५ हजार दिने बताएका हुन् ।

केपी ओली नेतृत्वको सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याएको थियो। ती अध्यादेश आजै बसेको प्रतिनिधिसभा बैठकमा एमालेको विरोधका बीच पारित गरेपछि सरकारलाई बजेट प्रतिस्थापन विधेयक ल्याउन बाटो खुलेको थियो।

सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोष्ट्रम घेराउका बीच बजेटको प्रतिस्थापन विधेयक संसदमा पेश गरेको थियो ।