काठमाडौं,२५ भदौ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को नाराबाजी र रोस्ट्रम घेराउका बीच सरकारले बजेट प्रतिस्थापन विधेयक संसदमा पेश गरेको छ ।

शुक्रबार तेस्रो पटक बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक पेश गरेका हुन् ।

नारबाजीका बीच मर्यादापालक र एमाले सांसदबीच घम्साघम्सी भएको थियो । विधेयकमा स्रोत सुनिश्चित नभएका आयोजना कटौति गरिएको मन्त्री शर्माले बताए ।

केपी ओली नेतृत्वको सरकारले जेठ १५ गते अध्यादेशबाट बजेट ल्याएको थियो । ती अध्यादेश आजै बसेको प्रतिनिधिसभा बैठकमा एमालेको विरोधका बीच पारित गरेपछि सरकारलाई बजेट प्रतिस्थापन विधेयक ल्याउन बाटो खुलेको हो।