काठमाडौं,२५ भदौ । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि संशोधन भएको छ। पुर्वनिर्धारित समयअनुसार सबै वडामा अधिवेशन हुन नसकेपछि कार्यतालिका परिमार्जन गरिएको हो ।

केन्द्रीय महाधिवेशनको मिति प्रभावित नहुने गरी तल्लो तहको अधिवेशनको मिति पर सारिएको निर्वाचन समितिले जनाएको छ । भदौ १८ देखि २६ सम्म वडा तहको अधिवेशन हुन नसकेका २० जिल्लाको वडा अधिवेशन असोज ५ का लागि सारिएको छ । डडेलधु्रामा आज भएको वडा अधिवेशनसहित ५७ जिल्लाको वडा अधिवेशन सकिएको छ ।

आइतबार (भदौ २७) का लागि तोकिएको गाउँ/नगर अधिवेशन असोज ९ मा हुने गरी मिति तय गरिएको छ । सातौंपटक संशोधन गरिएको कार्यातालिका अनुसार प्रदेश क्षेत्रीय अधिवेशन असोज १२ का लागि तोकिएको छ ।

एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन असोज १५ र त्यसभन्दा बढी निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन असोज १८ गतेका लागि सारिएको छ। प्रदेश अधिवेशन कात्तिक १०, ११ र १२ गते हुनेछ ।

केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित समयअनुसार आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौंमा हुदै छ ।