काठमाडौं,२५ भदौ ।
नेपालमा शुक्रबार थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ हजार ५४९ पीसीआर परीक्षण गर्दा ९६१ जना र २ हजार ३६७ एन्टिजेन परीक्षण गर्दा १८५ जना गरि १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६१ हजार ९५२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६६० जना संक्रमित निकाे भएका छन् भने २१ जनाको मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख ३६ हजार ६६६ जना काेराेना संक्रमित निको भएका छन् भने १० हजार ९२४ जनाको मृत्यु भएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २६ हजार २९६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ४५८ जनाको आईसीयू र १४५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये ३५४ जना काठमाडौं उपत्यकाका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश १ मा २८०, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ४३४ तथा गण्डकी प्रदेशमा १२२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै लुम्बिनीमा ७१, कर्णालीमा १५ र सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।