काठमाडौ,२४ भदौ ।
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उनलेे बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली काँग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर शर्माले बीपीले लामो समय बन्दी जीवन बिताएको सुन्दरीजलमा पुगेर आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
सो क्रममा शर्माले १५ वर्ष लगातार काँग्रेसलाई सरकार सञ्चालनको परिकल्पनाका साथ आफूले महामन्त्रीमा उम्मेदवारी दिन लागेको जानकारी दिए ।
बीपीले काँग्रेसले लगातार १५ वर्ष सरकारको नेतृत्व गर्न पाए देशको आर्थिक समृद्धि हुन सक्ने र जनताको जीवनस्तर पनि माथि उठ्न सक्ने धारणा राख्ने गरेकाे स्मरण गर्दै प्रवक्ता शर्माले सोही मन्त्रलाई आत्मसाथ गर्दै आफ्नो उम्मेदवारी बीपीले कल्पना गरेको विकासको मोडल साकार पार्न भएको बताए ।
‘महामन्त्रीमा मेरो उम्मेदवारी काँग्रेसलाई लगातार १५ वर्षसम्म सरकारको नेतृत्व गराएर बीपीले कल्पना गरेको विकासको मोडल साकार गर्न हा । म महामन्त्री भएर त्यसको लागि लागिपर्नेछु ।’, शर्माले भने ।
त्यस क्रममा शर्माले बिपी काेइराला र गणेशमान सिंहको सालिकमा माल्यार्पण पनि गरेका थिए । सम्बोधनपछि सुन्दरीजलमा बीपीले रोपेको कपुरको बोट नजिकै शर्माले रुद्राक्षको बिरुवा रोपे ।
बीपीले २०३४ सालतिर सुन्दरीजलमा कपुरको बिरूवा रोपेका थिए । त्यो बिरुवा हुर्केर ठूलो रूख बनिसकेको छ । सुन्दरीजलमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले पनि कपुरका बिरुवा रोपेका थिए ।
काँग्रेसको महाधिवेशन नजिकिँदै गर्दा नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । महामन्त्रीमा मात्रै एक दर्जनको हाराहारीमा आकांक्षी रहेका छन् ।






