बुटवल,२३ भदौ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले नेकपा एमाले फुटेको नभइ काचुली मात्रै फेरेको बताएका छन् ।
पार्टीमा केही विवादा भएपनि अब पार्टी एक ढिक्का बनेर अगाडि बढ्ने उनलेे दाबी गरे ।
प्रेस चौतारी नेपाल रूपन्देहीद्वारा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले छुटेर गएकालाई पनि समावेश गर्न खोजेपनि उनीहरु नआएको बताए ।
माधव नेपाल तर्फ इंगित गर्दै उनले आफ्नै पार्टीको नेतालाई प्रधानमन्त्रीबाट हटाएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर बुझाउँदा पनि लज्जाबोध नभएको बताए ।

उनले संसद् बचाउन विपक्षी गठबन्धनलाई सहयोग गरेको भन्ने माधव नेपाल पक्षको जवाफ आउनु अनुचित रहेको बताउँदै उपमहासचिव पाैडेलले ओलीलाई विश्वासको मत दिएको भए संसद् र संसद्को सम्मान कायम रहने बिचार व्यक्त गरे ।
उनले आफैका कुरा मिलाउन नसक्दा बर्तमान सरकारले कुनै देखिने काम गर्न नसकेको बताए ।
नेकपा एमाले फुटाउनकै लागि दल सम्बन्धी अध्यादेश ल्याएको बताउदै उनलेे संसदबाट अध्यादेश पास गरेर देखाउन प्रधानमन्त्री देउवालाई चुनौति दिए ।