बुटवल,२२ भदौ । एक नगर उपप्रमुख सहित ५ जना रूपन्देहीका एमाले जनप्रतिनिधिहरूले नेकपा एकीकृत समाजवादी दल राेजेका छन् ।

पार्टी बिभाजन भएपछि निर्वाचन आयोगले एमाले जनप्रतिनिधिहरूलाई दल राेज्न दिएको समय सकिन एक दिन बाँकी रहँदा साेमबार रुपन्देहीका एक नगर उपप्रमुख सहित ५ जना एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले नेकपा एकिकृत समाजवादी रोजेका हुन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहितका ५ जना जनप्रतिनिधिहरुले ले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । सोमबार मध्यान्ह निर्वाचन कार्यालय भैरहवा पुगेर उनीहरुले समाजवादी रोजेको सनाखत गराएका हुन् ।

आफुले निर्वाचन कार्यालय गएर एकिकृत समाजवादीमा रहने गरि सनाखत गराएको उपप्रमुख काफ्लेले बताइन् । एकिकृत समाजवादीका रुपन्देही अध्यक्ष राजु गुरुङका अनुसार काफ्ले सहित बुटवल उपमहानगरका वडा सदस्यहरु चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

रुपन्देहीमा थप एमालेका जनप्रतिनिधिहरुले समाजवादी रोज्ने अध्यक्ष गुरुङले दाबी गरे ।

निर्वाचन आयोगले प्रदेश तथा स्थानीयतहमा निर्वाचित एमालेका जनप्रतिनिधिहरुले भाद्र २२ गते सम्ममा एमाले मै बस्ने वा एकिकृत समाजवादी रोज्ने समय निर्धारण गरेको थियोे ।