काठमाडौ,२० भदौ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयाेग र सभामुख बिरूद्व दायर गरेको रिट आज पनि सुनुवाइ हुन सकेन ।
प्रधान न्यायाधीश चाेलेन्द्र समसेर जबराकाे इजलासमा पेशी ताेकिएकाे उक्त मुद्दा आज पनि हेर्न नभ्याइनेमा परेको हो ।
गत १६ साउनमा निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र नेकपा समाजवादीका १४ सांसदविरुद्ध सर्वोच्च अदालतमा वारेसमार्फत दायर रिटको सुनुवाई प्रधान्यायाधीश चोलेन्द्रसमशेर जबराले आफ्नै इजलाशमा राखेर आज सुनुवाई गर्ने तयारी थियो ।
उक्त इजलाशको नवौं नम्बरमा ओलीले दायर गरेको रिट सुनुवाईका लागि पेसी चढेको थियो । त्यसैगरी नेपाल विद्युत प्राधिकरणबाट हटाइएका हितेन्द्रदेव शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई कुलमान घिसिङ्गको नियुक्तिविरुद्ध दायर गरेको रिटको सुनुवाई पनि आजलाई सरेको छ ।
दुबै रिटलाई प्रधानन्यायाधीशको इजलासले आज हेर्न नभ्याइने भनेपछि पर धकेलिएको हो ।
तत्कालीन नेकपा एमालेले १४ सांसदलाई कारबाहीको सिफारिस गरे पनि कारबाही नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटा ,कारबाहीका लागि सिफारिस गरिएका १४ सांसदको सनाखत गरी पार्टी विभाजनमा सहयोग गरेको आराेपमा निर्वाचन आयोग र कारबाहीका लागि सिफारिस गरिएका लुम्बिनी प्रदेशका दुई प्रदेश सभा सदस्यलाई कारबाही नगरिएको भन्दै लुम्बिनी प्रदृेश सभाका सभामुख पूर्णबहादुर घर्तीविरुद्ध उत्प्रेषण वा परमादेशकाे माग गर्दै नेकपा एमाले अध्यक्ष ओलीले रिट दायर गरेका थिए ।
यता,विद्युत प्राधिकरणबाट हटेका हितेन्द्रदेव शाक्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई दायर गरेको रिटमा कुलमानको नियुक्तीलाई बदरभागी गर्न माग गरिएको छ । हितेन्द्रको रिट इजलाशको चौथो नम्बरमा थियो ।





