काठमाडौं,२० भदौ । नेपालमा आइतबार थप १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५ हजार १७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा ११३ गरी १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६९ हजार २७१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ५३४ जना निको भएका छन् भने २० जना कोरोना संक्रमितकाे मृत्यु भएको छ ।

नेपालमा हालसम्म ७ लाख २७ हजार १८५ जना संक्रमित निकाे भएका छन् भने १० हजार ८३८ जना संक्रमितकाे मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ जना रहेकाे छ । जसमध्ये २९ हजार ८१ जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार १६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५२३ जना आईसीयू र १६२ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् ।

यस्तै १० वर्ष मुनिका २४ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०० जनामा कोरोना संक्रमण देखिएको छ ।

आज कुन जिल्लामा कति जनामा संक्रमण ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा २८८, मोरङमा १३४, ललितपुरमा ९८, भक्तपुरमा ६७, कास्कीमा ५५, सुनसरीमा ४७, काभ्रेपलाञ्चोकमा ३६, झापा र जुम्लामा ३२/३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै रुपन्देहीमा २८, सिन्धुलीमा १९ र नुवाकोटमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।