काठमाडौं,१९ भदौ ।
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले एमसीसीको सम्बन्धमा उठेको आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै त्यस सम्बन्धी प्रक्रिया अगाडि बढ्ने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सहमहामन्त्री महतले नेपाली जनतामाझ उठेका आशंकालाई अमेरिकी सरकारले स्पष्ट पारेपछि मात्रै एमसीसीको प्रक्रिया अघि बढ्ने बताएका हुन् ।
सरकारले एमसीसीका विवादित विषयमा प्रष्ट पार्न भन्दै अमेरिकी सरकारलाई पत्र पठाएको जानकारी गराउदै महतले अमेरिकी सरकारले प्रष्ट पारेपछि एमसीसीबारेको आशंका निवारण हुने र परियोजना अघि बढ्ने बताए ।
पब्लिकमा यस्तो पो छ कि उस्तो पो छ कि भन्ने आशंका छ त्यो आशंका अवश्य पनि निवारण हुने काम सम्बन्धित पक्षबाट हुनेछ र प्रक्रिया अगाडि बढ्नेछ भन्ने मलाई लाग्छ’ उनले भने ।
सहमहामन्त्री महतले सत्तारुढ गठबन्धनका दलहरु नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताए । मन्त्रीको नाम पाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने उनको भनाइ छ ।






