दाङ,१९ भदौ ।
प्रहरीले दाङबाट अटोमेटिक पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको रुन्टीगढी गाउँपालिका–९ घर भइ घोराही उपमहानगरपालिका–१३ बडहरा बस्ने २५ वर्षीय इन्द्रकमल बुढामगर रहेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय दाङले शनिबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । बुढामगरले हातहतियार बोकी सर्वसाधारणहरूलाई त्रसित पार्ने गरेको र उक्त हतियार आफ्नै घरमा लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले रा ५ प ८७६२ नम्बरको स्कुटीभित्र लुकाई राखेको अवस्थामा एक राउन्ड गोली म्यागजिनमा लोड रहेको अवस्थामा १ थान अटोमेटिक पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्तां प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

उनलाई पक्राउ गरी बरामद हातहतियार खरखजाना ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । २०७० बैशाख २५ गते बुढामगरले साने घर्तीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा ज्यान मार्ने उद्योग कसुरमा २ वर्ष ६ महिना कैद सजाय तोकिएको र उनले उक्त सजाय भुक्तान गरिसकेको समेत प्रवक्ता रिजालले जानकारी दिए ।