‘ओलीकै गलत विचार, प्रवृत्ति र शैलीका कारण पार्टीमा रहन असमर्थ’
काठमाडौं,१८ भदौ ।
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टी परित्याग गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीमा कुनै सुधार नदेखिएको भन्दै गौतमले राजिनामा दिएका छन् ।
अध्यक्ष ओलीलाई सम्बोधन गरिएको राजीनामा पत्रमा गौतमले लेखेका छन्, ’तपाईंको कार्यशैली जनमुखी बनाउन धेरै पटक व्यक्तिगत रूपमा सुझावहरू पनि दिएँ। तर, तपाईं सुध्रिनुभन्दा अझ बढी व्यक्तिवादी र स्वेच्छाचारी बन्दै जानुभयो ।’
गौतमले ओलीलाई संविधानको सर्वोच्चता र कानुनी राज्यको सिद्धान्त पालना नगरेको आरोप पनि राजीनामा पत्रमा लगाएका छन् ।
’तपाईंले अवलम्बन गर्नुभएका गलत नीति र विचारअनुसार नचल्दा एकपछि अर्को गरी अपमान गर्ने, कारबाही गर्ने र पार्टीबाट निष्काशनसम्म गर्नेजस्ता स्वेच्छाचारी तथा निरंकुश प्रवृत्ति र शैली अंगाल्नुभयो’, गौतमले लेखेका छन्, ’त्यतिमात्र होइन तपाईंले सम्माननीय राष्ट्रपतिज्यूलाई समेत आफ्ना स्वेच्छाचारी तथा सर्वसत्तावादी नीति र निर्णयहरू कार्यान्वयन गर्न दुरुपयोग गर्नुभयो ।’
उनले ओलीकै गलत विचार, प्रवृत्ति र शैलीका कारण पार्टीमा रहन असमर्थ भएको पनि उल्लेख गरेका छन् ।
’फेरि पनि तपाईंसँगको चार दशक लामो मित्रताका कारण अब उप्रान्त पनि हामी दुई बीचको व्यक्तिगत सम्बन्ध मित्रतापूर्ण रहोस् भन्ने अपेक्षा छ,’ गौतमले लेखेका छन् ।
उनले शुक्रबार साँझ थापाथलीस्थित एमाले केन्द्रीय कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् ।
गौतमले एमाले परित्याग गरे पनि कुन पार्टीमा जाने खुलाएका छैनन्। उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा जानसक्ने बताइएको छ । उनीनिकट प्रायः सबै नेता समाजवादीमा गइसकेका छन् ।







