बिना बिभागीय मन्त्री शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी
बुटवल,१८ भदौ ।
लुम्बिनी प्रदेश सरकारले मन्त्रीहरुको जिम्मेवारी हेरफेर ग्ेएको छ । मुख्यमन्त्री कुल प्रसाद केसीको सिफारिसमा मन्त्रिपरिषद् कार्य विभाजन हेरफेर भएको हो ।
प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा ९ अनुसार यसअघि विना विभागीय मन्त्री बनेका अजय बहादुर शाहीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दिइएको छ भने सरकार प्रवक्ता समेत रहेका आर्थिक मामिला मन्त्री कृष्ण ध्वज खड्कालाई सहकारी मन्त्रालयको समेत थप जिम्मेवारी दिइएको छ ।
यस्तै शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीलाई पर्यटन, ग्रामीण मन्त्रालयको जिम्मेवारी समेत थपिएको छ ।
प्रदेश मन्त्रिपरिषदले मन्त्रीपरिषद कार्यबिभाजन नियमावली संसोधन गरेपछि नयाँ कार्यबिभाजन अनुसार मन्त्रीहरुलाई जिम्मेवारी दिइएको हो ।
यसअघि आईतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मौजुदा मन्त्रालयहरुको कार्यबिभाजन हेरफेर गर्नुका साथै मन्त्रालयको संख्या समेत ११ बाट बढाएर १३ पुर्याउने निर्णय गरेको थियो ।
प्रदेश मन्त्रालयको नयाँ कार्यबिभाजनअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहेका छन् ।







