काठमाडौं,१७ भदौ ।
विवकेशील साझा पार्टीमा समानान्तर गतिविधि रोक्न संयोजक मिलन पाण्डे पक्षलाई चेतावनी दिइएको छ ।
बिहीबार बसेको केन्द्रीय समिति बैठकले पार्टीमा समानान्तर गतिविधि रोक्न आग्रह गर्ने र यदी नरोके कारबाही गर्ने अध्यक्ष रवीन्द्र मिश्र पक्षको केन्द्रीय कमिटी बैठकले निर्णय गरेको हो ।
बैठकले संयोजक मिलन पाण्डे पक्षका नेताहरुलाई सचेत गराउँदै समानान्तर गतिविधि गरेर पार्टी हित विपरीतका गतिविधि तत्काल रोक्न निर्देशन दिने निर्णय गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए ।
बैठकले पार्टीको केन्द्रीय समितिको अर्को बैठकमा असन्तुष्ट सदस्यहरूलाई पनि सामेल गराउन यथाशक्य प्रयास गर्दै एक साताभित्र अध्यक्षले अर्को बैठक आह्वान गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले केन्द्रीय समिति बैठक सञ्चालन कार्यविधिको मस्यौदा अध्यक्ष रवीन्द्र मिश्रले केन्द्रीय समितिको आगामी बैठकमा पेस गर्ने निर्णय पनि गरेको छ ।
बैठकले सामाजिक सञ्जालमा पार्टी र अध्यक्ष मिश्रविरुद्ध अमर्यादित टिप्पणी गर्नेलाई पनि त्यस्तो गतिविधि तत्काल रोक्न निर्देशन दिएको छ । त्यस्ता गतिविधिलाई निरन्तरता दिए कारबाही गर्ने भनिएको छ ।
मिश्र पक्षको बैठकमा १०१ जना सदस्य सहभागी थिए । पाण्डेको पक्षको बैठकमा भने ४१ जना सदस्य सहभागी भएको जनाइएको छ ।
पाण्डे पक्षको बैठकले न्याय तथा सुशासन आयोग गठनको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । साथै, पार्टी विभाजन गराउन चाहने पक्षलाई निरुत्साहित गर्दै एकीकरणको घोषणा पत्र, निर्वाचन प्रतिबद्धता पत्र लगायत पालना गराउने पक्षमा पार्टी पंक्तिलाई अपील गर्ने पनि निर्णय गरेको छ ।
मिश्र पक्षले निर्णय गर्नुअगावै पाण्डे पक्षको बैठक सकिएको थियो । मिश्र पक्षको निर्णयपछि पाण्डेले शुक्रबार बिहान ११ बजेका लागि अर्को बैठक डाकेका छन् ।
अध्यक्ष मिश्रले संघीयता र धर्मनिरपेक्षतामा जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि पार्टीमा वैचारिक मतभेद छ । त्यहीबीच अहिले अध्यक्ष मिश्र र संयोजक पाण्डे पक्षबीच समानान्तर गतिविधि सञ्चालन भइरहेको छ ।






