पाल्पा,१७ भदौ ।
पाल्पा अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरु भएको छ ।

प्रेसर स्विङ एडजप्सन (पीएसए) विधिको प्लान्टसँग ४२० लिटर प्रतिमिनेट उत्पादन क्षमता रहेको छ ।

यसको शुद्धता ९३ प्रतिशतसम्म रहेको इलेक्ट्रिकल इन्जिनियर देवेन्द्र श्रेष्ठले जानकारी दिए । त्यसमा जडान भएको बुस्टरले प्रतिदिन ४० लिटर क्षमताका ५० वटा सिलिन्डर भर्न सक्ने उनले बताए ।

यससँगै पाल्पा अस्पताल र स्थानीय तहमा अक्सिजन अभावको समस्या समाधान हुने पाल्पा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीश कुँवरले बताए ।

कोरोनाको दोस्रो लहरका बेला अक्सिजनका लागि चितवन, भैरहवा, पोखरा, वीरगन्ज, नेपालगन्जसम्म धाउनुपर्ने अवस्था आएपछि सरकारसँग जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी)ले अक्सिजन प्लान्ट राख्न माग गरेको थियो । प्लान्टबाट पाइपलाइन बिच्छ्याएर बेडमा अक्सिजन लैजान सकिने र छुट्टै सिलिन्डर भरेर पनि दिन सकिने कुँवरले बताए ।

यसअघि अक्सिजन प्लान्ट राख्ने भवन बनाउन रकम नहुँदा दुई महिनादेखि जडान हुन सकेको थिएन । अहिले भवन तयार भएकाले जडानको काम सकिएको उनले बताए । सरकारले जेठ ४ गते अक्सिजन प्लान्ट जडानका लागि १ करोड ५० लाख रुपैयाँ बजेट स्वीकृत गरेको थियो । असारमै टेन्डर भएर अक्सिजन प्लान्ट आएको हो ।

अहिलेसम्म बजेट निकासा नभए पनि आउने निश्चित भएकाले टेन्डरमार्फत प्लान्ट जडान गरिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कुँवरले बताए ।
यसअघि प्लान्टको सबै सामान आए पनि भवन अभावले गर्दा जडान गर्न नसकिएको अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेले बताए । प्लान्टका लागि अस्पतालनजिकै २६ लाख लागतमा भवन निर्माण गरिएको छ ।

जिल्लामा रामपुर अस्पतालमा पनि अक्सिजन प्लान्टका लागि बजेट आएको छ । यसअघि पाल्पामा लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतालमा अक्सिजन प्लान्ट जडान भइसकेको छ ।