बुटवल,१७ भदौ ।
बुटवल उद्योग बाणिज्य संघले भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल छिटो सञ्चालनमा ल्याउन माग गरेको छ ।
बिमानस्थलको ९८ प्रतिसत भौतिक पूर्वाधार निर्माण सम्पन्न भएर पनि सञ्चालनमा ढिलाई भएको भन्दै संघले यथाशिघ्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
बुटवल उद्योग बाणिज्य संघले आज बुटवलमा पत्रकार सम्मेलन गरी यथाशिघ्र बिमानस्थल सञ्चालनको व्यवस्था मिलाउन माग गरेको हो ।
संघका अध्यक्ष उज्वल कसजुले सन् २०१५ को जनवरी १५ मा शिलान्यास भई २०१७ डिसेम्बरमा सञ्चालनमा ल्याउने लक्ष राखिएकोमा २०२१ को अगष्टसम्ममा पनि सञ्चालनमा आउन नसकेपछि संघको टोलीले स्थलगत अवलोकन गरेको र अवलोकनका क्रममा बिमानस्थल सञ्चालनमा आउन अझै धेरै समय लाग्ने सम्भावना देखिएकोले यथाशिघ्र सञ्चालनको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको जानकारी दिए ।
भौतिक पूर्वाधार निर्माणको काम ९८ प्रतिसत सम्पन्न भए पनि बिमानस्थल सञ्चालनमा भएको ढिलाई प्रति असन्तुष्टि जनाउदै अध्यक्ष कसजुले यथाशिघ्र बिमानस्थल सञ्चालनमा ल्याउन माग गरे ।
सबैभन्दा महत्वपूर्ण कार्य क्यालिब्रेसन फ्लाइट रहेको भन्दै संघले त्यसका लागि थाइल्याण्डबाट प्राबिधिक आउन हुनसक्ने ढिलाईप्रति लक्षीत गर्दै थाइल्याण्डबाट प्राबिधिक आउन ढिलाइ हुने भए अन्य बैकल्पिक व्यवस्था गरेर भए पनि यथाशिघ्र बिमानस्थल सञ्चालनमा ल्याउन माग गरेको छ ।
अध्यक्ष कसजुको सभापतित्वमा सम्पन्न पत्रकार सम्मेलनमा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,संघका बाणिज्य उपाध्यक्ष टंकप्रसाद गैरे,सचिब मुक्ति अधिकारी लगायतले आ आफ्नो भनाई राखेका थिए ।






