काठमाण्डौ,१७ भदौ ।
गृहमन्त्री बालकृष्ण खाणले कास्की, तनहुँ र दाङका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरी जिल्लामा भएका घटनाबारे जानकारी लिएका छन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम र तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यसँग लगातारको वर्षापछिको पहिरोले पु¥याएको क्षतिबारे जानकारी लिएका हुन् ।

त्यस्तै दाङमा भएको कार दुर्घटनाबारे प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसँग जानकारी लिएको गृहमन्त्री खाणको सचिवालयले जनाएको छ ।

मन्त्री खाणले प्राकृत्तिक बिपत्तिमा परेका नागरिकको जीवन रक्षाका लागि उपलब्ध स्रोत साधनको उपयोग गरेर काम गर्न निर्देशन दिए । उनले अहिलेसम्मको कामको प्रशंशा गर्दै अब त्यो भन्दा राम्रो काम हुने आशा व्यक्त गरे ।

तनहुँका प्रमुख जिल्ला अधिकारी आचार्यले मन्त्रीले टेलिफोनमा जिल्लाको भानु नगरपालिकाको वडा नम्बर ११ मानेचौकामा गएको सुख्खा पहिरोबारे जानकारी लिएको बताए । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बुधबार गएको सुख्खा पहिरोबाट दलित परिवारका १२ घर जोखिममा परेका छन् ।

उनीहरूलाई सुरक्षित स्थानमा सारिएको आचार्यले गृहमन्त्री खाणलाई जानकारी गराए । ती परिवारका लागि अस्थायी टहरा बनाउने काम सशस्त्र प्रहरीले गरिरहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले पोखरा महानगरपालिकाको वडा नम्बर २० र ११ मा गएको पहिरोमा परी पाँच जनाको निधन भएको र एक जना बेपत्ता भएको जानकारी दिए ।

पहिरोले पुर्दा ढलानका दम्पत्ति कृष्ण श्रेष्ठ र सुन्तली तामाङको निधन भएको गौतमले बताए । उनका अनुसार उनीहरूका छोरा सन्तोष श्रेष्ठ बेपत्ता रहेका छन् ।

त्यस्तै महानगरपालिकाकै वडा नं ११ नमुना टोलमा पहिरोले पुर्दा ४२ वर्षीय लक्ष्य नेपाली, अन्दाजी ४० वर्षीय विष्णु सार्की र उनका नाम नखुलेका एक छोराको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गौतमले जानकारी दिए । पाँच जनाको घाइते अवस्थामा उद्धार गरिएको छ र बेपत्ताकोे नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार कार्य जारी राखेको बताए ।

दाङमा सिस्ने खोलाले ३–०१–०२४ च ४४४० नम्बरको कार बगाउँदा घोराही उपमहानगरपालिका १५ की बिमला केसी र राधा कुँवर तथा घोराही उपमहानगर पालिका १३ का नितामाया पुन र सुशीला श्रेष्ठको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । कारका चालक नरबहादुर पुन घाइते भएको र उनको अवस्था सामन्य रहेको प्रजिअ कुरुम्बाङले बताए ।