संघीयताको आैचित्य पुष्टि हुने खालका योजना बनाउन मुख्यमन्त्री केसीको निर्देशन बुटवल,१६ भदौ ।
लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश याेजना आयाेगका उपाध्यक्ष तथा सदस्यहरूले आज सपथग्रहण गरेका छन् ।
बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयमा एक कार्यक्रमकाबीच मुख्यमन्त्री कुलप्रसाद केसीले आयाेगका उपाध्यक्ष बामदेव क्षेत्री र उपाध्यक्ष क्षेत्रीले सदस्यहरू डा.दामोदर भुसाल र शिवपुजन यादवलाई पद तथा गाेपनियताकाे सपथ गराएका हुन् ।

सपथ ग्रहण कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री केसीले संघीयताको आैचित्य पुष्टि गर्नेगरि योजना बनाउनुपर्नेमा जाेड दिए ।

संघीयताकाे सफल कार्यान्वयन अहिलेकाे आवश्यकता भएको भन्दै मुख्यमन्त्री केसीले योजना अायाेगले संघीयताकाे आैचित्य पुष्टि हुनेगरि कम जनशक्तिबाट धेरैलाई सेवा प्रवाह गर्ने खालका योजना बनाउन आयोगका पदाधिकारीहरूलाई निर्देशन समेत दिए ।

छाेटाे समयमा धेरै काम गर्न नसके पनि प्रदेशका गरिब तथा बिपन्न परिवारकाे जिवनस्तर माथि उकास्ने खालका याेजना आवश्यक रहेकोमा जाेड दिए ।

योजना आयाेगका नवनियुक्त उपाध्यक्ष बामदेव क्षेत्री,सदस्य डा दामोदर भुसाल र शिवपुजन यादवले छाेटाे समयमा धेरै काम गर्न सम्भव नभए पनि प्रदेशको विकासका लागि के कस्ता योजना आवश्यक छन् भन्ने बिषयमा अध्ययन गरेर साेहि अनुसारका योजना बनाउने बताए ।

कार्यक्रममा भाैतिक पुर्वाधार विकास मन्त्री सहसराम यादव,बिनाविभागिय मन्त्री सुमन शर्मा रायमाझी,मन्त्रालयका सचिव तथा अधिकृतहरूकाे सहभागीता रहेको थियो ।

आयाेगका नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूले आजै पदबहाली गरेका छन् ।