सुचना टासेर बैठक स्थगित गर्ने तयारी
बुटवल,१६ भदौ ।
पटकपटक स्थगित हुदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुन स्थगित हुने भएको छ ।
भाेली भदौ १७ गतेका लागि बाेलाइएकाे प्रदेश सभाकाे नवाैं अधिवेशनकाे पाचौं बैठक पनि स्थगित हुने भएको हो ।
प्रदेश सभा बैठक सुचारू गर्ने बिषयमा विपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेको र भदौ १८ गते नेपाली कांग्रेसको वडा अधिवेशन समेत रहेकोले भाेलीका लागि बाेलाइएकाे बैठक स्थगित गर्ने निष्कर्षमा पुगेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
विपक्ष दल एमालेले आफुहरूकाे माग सम्बाेधन नभएसम्म बैठक अवरुद्घ गर्ने कार्य जारी रहेको जनाउ दिएको र नेपाली कांग्रेसको समेत १८ गते वडा अधिवेशन रहेकोले एकछिनका लागि मात्रै बैठक राख्नुकाे कुनै अर्थ नरहने भएकोले बैठक स्थगित गर्न लागिएको सभामुख पुर्ण बहादुर घर्तीले जानकारी दिए ।
यद्यपि यो समाचार तयार पार्दासम्म प्रदेश सभा सचिवालयले बैठक स्थगित भएको सुचना भने जारी गरिसकेको छैन ।
प्रदेश सभामा विपक्षी दल नेकपा एमालेले सुर्य सुनाव चिन्ह लिएर चुनाव लडेका तत्कालीन नेकपाकि प्रदेश सभा सदस्य बिमला कुमारी खत्री वली र स्वतन्त्र राजनीतिक समूहका अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै निरन्तर वैठक अवरुद्ध गर्दै आएको छ ।
प्रदेश सभा सचिवालयले भने सचिवालयकाे रेकर्डमा वली नेकपा
माओवादी केन्द्र र शाही स्वतन्त्र राजनीतिक समुह उल्लेख भएकोले एमालेकाे पत्रकाे आधारमा उनिहरूलाई पदमुक्त गर्न नमिल्ने जनाएको छ ।
अदालतले नेकपा खारेज गरेपछि प्रदेश सभा सदस्य वलीले नेकपा माओवादी केन्द्र राेजेकी छन् भने अजय शाहीले आफु स्वतन्त्र राजनीतिक समुहबाट चुनाव लडेकोले एमालेकाे ह्विप नलाग्ने दाबी गर्दै आएका छन् ।






