बुटवल,१५ भदौ ।
राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दलेर फरार भएका एमाले निकट अनेरास्ववियू दाङका अध्यक्ष सर्जन परियारले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

परियार मंगलबार आफैं जिल्ला प्रहरी कार्यालय दाङमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले परियारले प्रहरी कार्यालयमा आएर आत्मसमर्पण गरेको जानकारी दिए ।

प्रहरी समक्ष आत्मसमर्पण गरेका परियारले आफूमाथि लगाएको आरोप झूटो भएको दाबी गरेका छन् ।

चिकित्सकमाथि कालोमोसो दल्ने मुख्य आरोपी ६ जनामध्ये अहिलेसम्म परियारसहित तीन जना पक्राउ परेका छन् । फरार रहेका तीन जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई स्वास्थ्यकर्मीहरुको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम जिल्ला प्रहरी कार्यालय दाङमा मुद्दा दायर गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

स्वास्थ्यकर्मीमाथि हातपात गरेमा पाँच वर्षसम्म कैद सजाय हुने गरी सरकारले नयाँ अध्यादेश ल्याएपछि नेपालमा पहिलोपटक अध्यादेश बमोजिम मुद्दा दायर भएको प्रजिअ कुरुम्बाङ्ले बताए ।