कुनै कार्यकारी पदमा नबस्ने घोषणा

काठमाडौं,१४ भदौ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओलीको पार्टी नेकपा एमाले दक्षिणपन्थी अवसरवादको प्रतिक बनेको आरोप लगाएका छन् ।

स्वास्थ्योपचारपछि सोमबार भारतबाट स्वदेश फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै नेता खनालले ओली र उनको पार्टी एमाले दक्षिणपन्थी अवसरवादको प्रतिक बनेको आरोप लगाएका हुन् ।

केपी ओलीको पार्टी दक्षिणपन्थी अवसरवाद, गुटवाद, अहंकारवाद र व्यक्तिवादको प्रतिक बनेको भन्दै उनले आफुहरुले त्यसका विरुद्ध विद्रोह गर्नुपरेको बताए ।

आफुहरुले एमाले पार्टी फुटाएको नभइ दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गरको बताउँदै नेता खनालले विद्रोह फुट र विनाश नभएको धारणा राखे । आफूहरुले गरेको विद्रोह अग्रगतिका निम्ति नयाँ झिल्को भएको उनको भनाइ थियो ।

वरिष्ठ नेता झलनाथ खनालले अब आफु पार्टीको कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा समेत गरे ।

पछिल्लो सर्जरीपछि पाएको नयाँ जीवन नाफाको (बोनस)को जीवन भएको भन्दै उनले अब सास रहुञ्जेल, देश, राष्ट्रियता, कम्युनिस्ट आन्दोलनको विकास, विस्तार र सुदृढीकरणमा लाग्ने बताए ।

पार्टीले दिएको जिम्मेवारीअनुसार नयाँ क्रान्तिकारी धारबाट समाजवादको लक्ष्यमा पुग्ने वातावरण तय गर्नमा लाग्ने उनको भनाई छ ।