दाङ,१४ भदौ ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद सिंहलाई कालोमोसो दल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
डा. सिंहलाई दुव्र्यवहार गर्ने मुख्य व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।
कालोमोसो दल्ने मुख्य व्यक्तिलाई पक्राउ गरे पनि पक्राउ पर्ने व्यक्तिको परिचय भने खुलाइएको छैन ।
घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताउदै एसपी काफ्लेले पक्राउ परेका व्यक्तिलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने बताए ।
दोषीलाई कारबाहीको माग गर्दै स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएपछि राप्ती प्रादेशिक अस्पतालको आकस्मिक बाहेक अन्य सेवा आज चौथो दिन पनि ठप्प रहेको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टमाथि दुव्र्यवहार भएपछि दोषीहरूलाई कानुनी दायरामा नल्याउँदासम्म अस्पतालको सेवा ठप्प पार्ने आन्दोलनरत चिकित्सकको भनाइ छ ।
उता दाङका २० बढी स्वास्थ्य संस्थाहरुले जिल्लाका अन्य सरकारी अस्पतालहरुमा पनि आकस्मिकबाहेकका सेवा बन्द गरेका छन् ।
उनिहरुले संयुक्त विज्ञप्ति जारी गरी जिल्लाका सरकारी अस्पताल तथा स्वास्थ्यचौकीहरुमा आकस्मिकबाहेकका सेवालाई ठप्प पारेको जनाएका छन् ।
डाक्टर सिंहलाई दुव्र्यवहार गर्नेलाई छिटो भन्दा छिटो कानुनी दायरामा ल्याउन गर्न माग गर्दै स्वास्थ्यकर्मी र चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।





