बुटवल,१४ भदौ । बुटवलको ज्याेतिनगरमा माथिबाट खसेको पहिरोले थप ७ घरमा क्षति पुर्याएकाे छ ।
अबिरल वर्षासंगै आइतबार बिहान खसेको पहिरोसे बुटवल उपमहानगरपालिका ३ ज्योतिनगरका २ दर्जन बढी घरमा पुगेको मा आज थप ७ घरमा क्षति पुर्याएकाे हो ।
आज बिहनै देखि निरन्तर पानी परिरहेको र पहिरो खस्ने क्रम पनि नरोकिएका कारण त्यस क्षेत्रमा थप जोखिम बढेको प्रहरीले जनाएको छ ।
आईतबारबाटै उद्दार र स्थानान्तरणमा खटिएको नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीले केहि स्थानीयबासीलाई बुटवल बहुमुखि क्याम्पसमा सारेको छ । जाेखिमयुक्त ठाउँका स्थानीयबासीहरु बहुमुल्य सामान लिएर सुरक्षित स्थानतर्फ सर्ने क्रम जारी रहेको छ ।
आइतबार बिहान उज्यालो भएपछि मात्र पहिरो खसेकाले घरमा रहेका स्थानीयहरु भागेर सुरक्षित स्थानमा पुगेका कारण मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । कुँवरका अनुसार अन्य २० घरमा पनि ढुंगासहितको लेदो माटो पसेको छ ।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेका बिद्युत पोल पनि बगाएको छ।
साे ठाउँमा २०५५ साल भदौ २० गते पहिरो खस्दा ५७ घरमा क्षति पुगेको थियो ।








