बुटवल,१४ भदौ ।
राप्ती प्रादेशिक अस्पताल दाङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट (मेसु)डा.विनोद सिंहमाथि मोसो दल्नेलाई प्रहरीले पक्राउ नगरेको विरोधमा घोराहीमा चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।

दोषीलाई कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको माग गर्दै स्वास्थ्यकर्मीहरु अस्पतालको आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् ।
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले भदौ ११ गते दिउँसो डा. सिंहलाई कार्यकक्षमै प्रवेश गरी मोसो दलेका थिए ।

मोसो दल्ने व्यक्ति चार दिनसम्म पक्राउ नपरेपछि स्वास्थ्यकर्मीहरु लगातार विरोधका कार्यक्रम गर्दै आइरहेका छन् । सोमबार घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।

घटनामा संलग्नको खोजीमा प्रिहरी नायव उपरीक्षक मुकुन्द रिजालको नेतृत्वमा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले मोसो दलेर चिकित्सकमाथि दुव्र्यवहार गर्नेलाई अभद्र व्यवहारसँगै स्वास्थ्यकर्मीको सुरक्षाको लागि सरकारले ल्याएको अध्यादेश अनुसारको मुद्दा दर्ता गरिने बताए ।