काठमाडौं,१३ भदौ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच दुई दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ ।
सत्ता साझेदार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच आइतबार बिहान भएको छलफलमा दुई दिनभित्र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच उक्त सहमति भएको हो । करिब ढेड घण्टा चलेको सो छलफलमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।
प्रधानमन्त्री नियुक्त भएको डेढ महिनासम्म सरकारलाई पूर्णता दिन नसकेको भनेर आलोचना भइरहेको बेला तीन दलका शीर्ष नेताबीच केही दिनयता मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल हुँदै आएको छ ।






