काठमाडौं,१२ भदौ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षका जिल्ला सभापतिहरुको रिले अनशन तोडिएको छ ।
भदौ ८ गतेदेखि पार्टी कार्यालय सानेपामा जारी अनसन ५ दिनपछि शनिबार बेलुकी तोडिएको हो । पार्टी नेतृत्व उनीहरूका माग सम्बोधन गर्न तयार भएपछि आन्दोलन फिर्ता लिएका हुन् ।
क्रियाशील सदस्यता विवाद समाधान समितिका तर्फबाट पूर्व महामन्त्री कृष्ण सिटौला तथा सदस्यहरू डा.मिनेन्द्र रिजाल र रमेश लेखकले जुस खुवाएर अनसन तोडाएका हुन् ।
त्यसक्रममा सिटौला, रिजाल र लेखकलगायतका नेताहरू अनसन स्थल गएर सम्बोधन गरेका थिए । नेताहरूले नेतृत्वबीचको भएको सहमति पनि जिल्ला सभापतिलाई जानकारी गराएका थिए ।
कार्यदलका सदस्यहरूले विधिसम्मत आएका क्रियाशील सदस्यहरूको नाम छुटेको भए फेरी नामावलीमा समावेश गर्ने प्रतिबद्धता जनाएपछि अनसन तोडिएको कांग्रेस नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।
केसीले मुद्दाका विषयमा सहमति भइसकेपछि अनसन तोड्दै सबैले १४ औं महाधिवेशनको तयारीमा जुट्न आह्वान गरिएको पनि बताए । जिल्ला सभापतिहरूले क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने र त्यसमा भएको त्रुटी सच्याउने मौका दिइनुपर्ने माग मुख्य रूपमा राखेका थिए ।
हिजो सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको वार्तामा ती माग पूरा गर्ने सहमति बनेको थियो । बुधबार बिहान ११ बजेदेखि बिहीबार बिहान ११ बजेसम्म नुवाकोट सभापति केसी, काभ्रे सभापति मधु आचार्य र धादिङ सभापति रमेश धमला २४ घण्टे रिले अनशन बसेका थिए ।
उनीहरूलाई अनशनमा नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्ण र नेता डिल्लीराम सुवेदीले साथ दिएका थिए । बिहीबार बिहान ११ बजेदेखि शुक्रबार बिहान ११ बजेसम्म सिन्धुपाल्चोकका सभापति विकास लामा, तनहुँका सभापति बैकुण्ठ न्यौपाने, सुर्खेतका सभापति कमल रेग्मी २४ घण्टे रिले अनशनमा बसेका थिए ।
उनीहरूलाई भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरू मनोजमणि आचार्य र प्रमोदहरि गुरागाईँले साथ दिएका थिए । शुक्रबार बिहान ११ बजेदेखि साँझसम्म उदयपुरका सभापति विदुर बस्नेत, संखुवासभाका सभापति दिपन श्रेष्ठ र काठमाडौंका सभापति कृष्ण सबुज बानियाँ रिले अनशनमा बसेका थिए ।






