काठमाडौं,१२ भदौ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई साथ छाडेका दोस्रो तहका नेताहरुले दुई वटा पार्टी दर्ता गराएको खुलासा गरेका छन्

पार्टी निकट पेशागत महासंघ नेपाल बागमती प्रदेश समितिले शनिबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उक्त कुराकाे खुलासा गरेका हुन् ।
उनिहरुले नयाँ पार्टी बनाइ हालौँ, बनाइ राखौँ कुनै बेला पनि घोषणा गर्नुपर्छ भनेपछि अर्को पार्टी दर्ता गरेका स्मरण गर्दै उनलेे कलम चिह्नवाला नेकपा एकीकृत र नेकपा लोकतान्त्रिक पनि दोस्रो पुस्ताले खोलेकाे दाबी गरे । पहिले उनिहरूकै जाेडबलमा दुईवटा पार्टी दर्ता गर्ने अनि अहिले अर्को पार्टी खोल्न मिल्छ? भनेर भन्ने ? नेपालकाे प्रतिप्रश्न थियो ।

केपी ओलीले बार्दलीबाट घुर्कि सकेपछि सच्चिएका हुन् ? भन्ने प्रश्न गर्दै अध्यक्ष नेपालले थपे, ‘मोटरसाइकल र्‍याली गरिसकेपछि ‘बा’ राजनेता केपी ओली रे!’

आफूले पदका लागि कहिल्यै पनि लडाईं नगरेको स्पष्ट पार्दै उनलेे दोस्रो पुस्ताका नेताहरु तयार भए आफू नेतृत्व हस्तान्तरण गर्न तयार भएको समेत बताए।

अध्यक्ष नेपालले भने, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु। आउनुहोस्, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस्। म अध्यक्ष पदबाट त अहिल्यै भनि हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै विदा भइहाल्छु, भएन? पदको लडाईं होईन, यो। विचारको लडाईं हो, यो। सिद्धान्तको लडाईं हो यो। मूल्य र मान्यताको लडाईं हो यो।’

केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको उनको तर्क छ । आफूविरुद्ध कुप्रचार भईरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए ।

‘खाली कुप्रचार बाहेक केही पनि छैन। यस्ता झूटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस्। उनीहरुको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो। मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो। यस्ता प्रवृत्ति भएका मान्छेहरु इमान्दार, क्रान्तिकारी कम्युनिष्ट हुन सक्छन?’ नेता नेपालले भने।

समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भई काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि उनले बताए। सो अभियानमा पदलोलुप नभई काम गर्न पनि उनले निर्देशन दिए।