काठमाडौ,१२ भदौ ।
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीसँग कुनै पनि पार्टीले प्रतिश्पर्धा गर्नै नसक्ने दाबी गरेका छन । महालक्ष्मी नगर कमिटीले शनिबार ललितपुरमा आयोजना गरेको युवासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन ।
अन्य राजनीतिक दलप्रति चर्को आक्रोश पोख्दै ओलीले एमालेसँग सिंगलसिंगल प्रतिष्पर्धा गर्न नसकेर विपक्षीले मोर्चाबन्दी गरेको पनि टिप्पणी गरे । ‘एक/एक दर्जनको १० वटा पार्टी मिल्दा १० दर्जन नै त हुन्छ । १० दर्जनको मोर्चा कसेर एमालेसँग लड्ने ?’ ओलीले भने ।
ओलीले माधव नेपाललगायतका केही मान्छे पार्टीबाट चोइटिएर गएपनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको बारम्बार दोहोर्याएका थिए । माधव नेपालसहितका केही मान्छेले पार्टी छोडेकोमा चिन्ता नमान्न नेता-कार्यकर्तालाई आग्रह गर्दै ओलीले भने, ‘एक/दुई वटा पात पहेँलिएर झर्दैमा रुखले चिन्ता मान्नुपर्दैन । अर्को टुसा आउँछ ।’
ओलीले माधव नेपाल प्रतिक्रियावादी कित्तामा पुगेकाले उनको बहिर्गमनले एमालेलाई घाटा नलाग्ने दाबी गरे ।






