काठमाडौं,१२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)सँग एकता गरेर केपी शर्मा ओलीले प्रधानमन्त्री पद प्राप्त गरेको र आफुले ज्ञान प्राप्त गरेको टिप्पणी गरेका छन् ।

नयाँ सरकार गठन हुनुअघि प्रधानमन्त्री देउवा निवासमा भएको पाँच दलीय गठबन्धनको बैठकमा आफूलाई गठबन्धनका नेताले केपी ओलीसँग एकता गरेर के पाउनुभाे भनेर सोधेको स्मरण गर्दै प्रचण्डले आफूले ज्ञान पाएको जवाफ दिएको बताए।

शनिबार वाइसिएलको राष्ट्रिय भेलालाई सम्बाेधन गर्दै प्रचण्डले
आफू घिउजस्तै नरम भएकाले ओलीले फाइदा उठाएको दाबी गरे । आलोपालो प्रधानमन्त्री र अध्यक्ष लगायतको सहमति गरेर ओलीले धोका दिएको उनले बताए ।

‘हामी घिउजत्तिकै नरम छौँ। तर, पर्यो भने कठोर हुन पनि जान्छौँ। ओली प्रवृत्तिलाई त्यही बलले ढाल्यौँ। संविधान, लोकतन्त्रको रक्षाको लागि गठबन्धनको महत्वपूर्ण हात हुन्छ’ प्रचण्डको भनाइ छ।

अब बन्दुक समातेर नभएर औजार समातेर समाजवादको नयाँ सेना बन्नुपर्ने उनलेे बताए ।

‘कतिपयले एकता गरेर गल्ती भयो भन्छन् । तर, होइन एकता आवश्यकता थियो र छ । लोकतन्त्र र संविधान ल्याउनका लागि माओवादीको भूमिका छ भन्ने बिषयमा ओलीले हस्ताक्षर गरेका छन् । हामी सहमतिकाे हस्ताक्षरमा ढुक्क भयौँ ।’

प्रचण्डले भने,’ओलीले प्रधानमन्त्रीको लागि पो झुटो कुरा हस्ताक्षर गरेका रहेछन् । उनले प्रधानमन्त्री पाए मैले ज्ञान पाएँ ।’

पुस्ता हस्तान्तरण गर्न तयार रहेको संकेत गर्दै प्रचण्डले भने, ‘म प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेँ। अब बिदा भएर संस्मरण लेख्न मन छ। तर, तपाईंहरु तयार नभएसम्म मैले सुख पाउने अवस्था छैन। त्यसकारण तपाईहरु लाग्नुपर्छ।’

धेरै ठुलो मेहनतका साथ गठबन्धन निर्माण भएको बताउँदै प्रचण्डले लोकतन्त्र र संविधानको रक्षाको लागि दृढतापूर्वक लाग्नुपर्नेमा जाेड दिए । आफ्नो पार्टी र संगठनलाई बलियो बनाउनुपर्ने बताउँदै प्रचण्डले प्रतिक्रियावादी शक्तिहरुले गठबन्धनलाई भत्काउने प्रयास गरिरहेकाले सचेत हुनुपर्ने आवश्यकता आैल्याए ।

अहिलेको उपलब्धिलाई रक्षा गर्नको लागि युवा शक्तिलाई प्रत्येक कमिटीमा ल्याउनुपर्ने उनको भनाइ छ।

‘हामी सिधा सिधा कुरा गर्ने परियो उता केपी ओलीको बोलाइ एउटा बोली अर्कै रहेछ । म भ्रष्टाचार गर्दिनँ, अरुलाई पनि गर्न दिन्न भन्ने तर, उनले भ्रष्टाचार लुकाउनलाई पो त्यस्तो भनेका रहेछन्’ प्रचण्डले भने ।