बुटवल,१२ भदौ ।
रुपन्देहीको कञ्चन गाउपालिकामा शनिवार देखि साप्ताहिक आँखा उपचार केन्द्रको शुभारम्भ भएको छ ।
लायन्स कलव अफ क्ञ्चन हरैयाको व्यबस्थापन तथा बुटवल लायन्स आँखा अस्पतालको प्राबिधिक सहयोगमा आँखा उपचार केन्द्र शुरु भएको हो ।

साप्ताहिक आँखा उपचार केन्द्रको शुभारम्भ गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले आँखा अस्पतालको अवधारणा सहित शुरु भएको साप्ताहिक आँखा उपचार केन्द्रले कञ्चन, गैडहवा र कपिलबस्तुको बाणगंगा नगरपालिकका आँखाका बिरामीहरुलाई सुविधा हुने बिश्वास व्यक्त गरे ।
आँखाका बिरामीहरु समय र पैसा खर्च गरेर बुटवल र भैरहवा जानु पर्ने समस्यालाई साप्ताहिक आँखा उपचार केन्द्रले समाधान गर्ने भन्दै उनले बताए ।
उनलेे कञ्चन लायन्स आँखा अस्पताल निर्माण गर्न गाउपालिकाबाट आवस्यक आर्थिक तथा भौतिक सहयोगको समेत व्यबस्थापन गर्दै जाने प्रतिबद्धता ब्यक्त गरे ।
गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले सामाजिक स्वार्थका लागि संघर्ष गर्नेहरु कहिल्यै एक्लो नहुने बताउदै लायन्स क्लव अफ कञ्चन हरैयाले ग्रामिण क्षेत्रका आँखाका बिरामीहरुलाई सहज र दक्ष चिकित्सकहरुसंगको पहुंच पुर्याउन संचालन गरेको साप्ताहिक आँखा उपचार केन्द्र कञ्चनको गौरव भएको बताइन् ।

कार्यक्रममा लायन्स सेकेण्ड भाइस डिस्ट्रिक गर्भनर नवराज नयौपानेले कञ्चनमा आँखा अस्पताल संचालन गर्नु भन्दा पहिले साप्ताहिक आँखा उपचार केन्द्र संचालन गरेर लायनस क्लव अफ कञ्चन हरैयाले राम्रो कार्य गरेको बताए ।

यसैबीच आज २४७ जनाले आँखा जाँच गराएकोमा मोतीबिन्दु देखिएका १८ जनालाई निशुल्क शल्यक्रियाका लागि बुटवल लायन्स आँखा अस्पतालमा रिफर गरिएको लायन्स कलव अफ कञ्चन हरैया का अध्यक्ष शसिधर सापकोटाले जानकारी दिए ।
कञ्चनमा आँखा अस्पताल संचालनार्थ समाजसेबी किरण के.सी. र राम बहादुर के.सी.ले निशुल्क रुपमा २ कट्ठा जग्गा उपलब्ध गराएका छन भने साप्ताहिक आँखा उपचार केन्द्र संचालनका लागि किरण के.सी.ले निशुल्क रुपमा आँखा जांच कक्ष र फार्मेसी कक्ष संचालनका लागि आफ्नै घरमा दुई कोठा उपलब्ध गराएका छन् ।
लायन्स कलव अफ कञ्चन हरैयाका अध्यक्ष राम बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स डिस्ट्रिक चिफ दिपक श्रेष्ठ, बुटवल लायन्स आखा अस्पतालका अध्यक्ष रामेशवर श्रेष्ठ, सुनगाभा सामुदायिक बिकास केन्द्रका कार्यकारी निेर्देशक गोपाल बहादुर के.सी., रुद्रपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष दिननाथ आचार्य, नेकपा एमालेका भरतमणी सापकोटा, नेपाली कांग्रेसका यम बहादुर क्षेत्री, नेकपा (क्रान्तीकारी माओवादी ) का केजी कुमार पौडेल, राजमोका लिलाराम खनाल,राष्ट्रिय जनमुक्ती पार्टीका रुम बहादुर फौजा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

क्लबका प्रथम उपाध्यक्ष मोहन सुनारको स्वागत मन्व्यबाट सुरु भएको कार्यक्रमकाे सञ्चालन सचिव थम सिंजालीले गरेका थिए ।