काठमाडौं,१२ भदौ ।

नेपाली कांग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने भएको छ।

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी भएको हो।

दुई पक्षबीच सहमति भएपछि पौडेलले आजै आफूनिकटका नेता र जिल्ला सभापतिहरूसँग छलफल गरेका थिए ।

देशभरका छ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता प्रकाशमान सिंहले जानकारी दिए।

उनका अनुसार जिल्ला सभापतिहरूले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी भएको छ।

जिल्ला सभापतिहरूले निर्वाचन निर्देशिका संशोधन र क्रियाशीलको नाम सार्वजनिक गर्न माग गरेका थिए। ४८ जिल्लाका क्रियाशीलको नाम सार्वजनिक भएको र अरू जिल्लाको एक/दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ।

एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरी जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ। क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउनेछन्।